Blog

  • नेवार समुदायले मनाए नयाँ वर्ष, म्हः पूजासँगै नेपाल संवत् ११४७ भित्रियो

    नेवार समुदायले मनाए नयाँ वर्ष, म्हः पूजासँगै नेपाल संवत् ११४७ भित्रियो

    काठमाडाै‌, कार्तिक २४ ।  नेपाल संवत् ११४७ आज देशभर विविध कार्यक्रमसहित मनाइँदै छ। नेवार समुदायले यस दिनलाई नयाँ वर्षका रूपमा मनाउँदै म्हः (आत्म) पूजा पनि गरिरहेका छन्। काठमाडौंको वसन्तपुरमा नेवार समुदायका मानिस भेला भई बाजागाजासहित पर्व मनाएका छन्।

    इतिहासअनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरेपछि नेपाल संवत् सुरु भएको थियो। पृथ्वीनारायण शाहको शासनकालसम्म यसले राष्ट्रिय संवत्को मान्यता पाएको थियो। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् नेपालकै मौलिक संवत् हो भने त्यसअघि शक संवत् प्रचलनमा थियो।

    नेपाल संवत्लाई पुनः राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान चल्दै आएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार बाहुल्य क्षेत्रमा यो पर्व विशेष रूपमा मनाइन्छ।

  • टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले, रास्वपाले दियो बधाई

    टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले, रास्वपाले दियो बधाई

    काठमाडाै‌, कार्तिक २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेपछि पार्टीले उनलाई बधाई दिएको छ। महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारमा वाग्लेले देखाएको नेतृत्वलाई नेपालका लागि महत्त्वपूर्ण भनिएको छ।

    विज्ञप्तिअनुसार रसुवा/भोटेकोशी बाढीपछि वाग्लेको नेतृत्वमा द्रुत विपद्पश्चातको आवश्यकता आँकलन गर्नुका साथै, कार्बन उत्सर्जनमा योगदान नगर्ने देशले भोग्नुपर्ने क्षति र विश्वसमुदायको दायित्वबारे तथ्यमा आधारित पैरवी भयो। संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी नोक्सानी तथा क्षति कोषबाट रकम पाउने पहिलो देश नेपाल बन्ने पहल र पीडित नागरिकका लागि अर्बौँ रकम जुटाउन पाएको सफलतालाई पनि पार्टीले उल्लेख गरेको छ।

    जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि असर असमान रूपमा भोग्नुपरेको उल्लेख गर्दै रास्वपाले हिमाली तथा पहाडी क्षेत्रको जोखिम र प्रभावित समुदायका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन वाग्लेको भूमिका रहेको जनाएको छ। यो उपलब्धि व्यक्तिगत सम्मान मात्र नभई नेपालजस्ता जलवायु प्रभावित देशतर्फ विश्वको ध्यान तानिएको प्रमाण भएको पार्टीको भनाइ छ। पार्टीले यसलाई जलवायु कूटनीति र न्यायपूर्ण जलवायु कार्यका लागि थप जिम्मेवारीका रूपमा लिने बताएको छ।

  • पदबाट हटाइएपछि निवर्तमान आईजीपी कार्की सर्वोच्च पुगे

    पदबाट हटाइएपछि निवर्तमान आईजीपी कार्की सर्वोच्च पुगे

    काठमाडौं, १९ कात्तिक। पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्न पुगेका छन्। उनको रिट बोकेर केही समयअघि वकिलहरू सर्वोच्च पुगेका हुन्।

    सरकारले  कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। आफूमाथि अन्याय भएको दाबी गर्दै उनी अदालतको शरणमा पुगेका हुन्। अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्र उक्त रिट दर्ता हुन्छ कि हुँदैन भन्ने टुंगो लाग्नेछ।

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई पदमुक्त गर्दै उनको ठाउँमा एआईजी मनोज केसीलाई नियुक्त गरेको थियो। साथै, प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको नयाँ पद सिर्जना गरी कार्कीलाई त्यहाँ पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको थियो।

  • रसुवा-बाढीपछी प्रधानमन्त्री कोषमा १८ अर्ब ३७ करोड पुग्यो, अझै संकलन जारी

    रसुवा-बाढीपछी प्रधानमन्त्री कोषमा १८ अर्ब ३७ करोड पुग्यो, अझै संकलन जारी

    काठमाडौं, १९ कात्तिक। रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग थपिने क्रम अझै रोकिएको छैन।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार आज बिहान ९ बजेसम्म यी कोषका विभिन्न खातामा जम्मा रकम १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँ पुगेको छ।

    यसमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत नौ वटा वाणिज्य बैंकका खातामा १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ रुपैयाँ मौज्दात छ। साथै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा ३ करोड १४ लाख ९ हजार ७५७ अमेरिकी डलर जम्मा भएको छ।

  • दुई सातापछि आज मन्त्रिपरिषद् बैठक

    दुई सातापछि आज मन्त्रिपरिषद् बैठक

    काठमाडौं, १७ कात्तिक – सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्दैछ। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक ४ बजे बस्ने गरी बोलाइएको हो।

    करिब दुई साताको अन्तरालपछि बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।

  • सुनको भाउ तोलामा ७०० रुपैयाँले उकालो, चाँदी भने ४५ रुपैयाँले सस्तियो

    सुनको भाउ तोलामा ७०० रुपैयाँले उकालो, चाँदी भने ४५ रुपैयाँले सस्तियो

    काठमाडौं, १७ कात्तिक – सुनको मूल्यमा मंगलबार तोलामा ७०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी भने सस्तो भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कायम भएको हो। हिजो यही सुन २ लाख ७४ हजार ३ सय रुपैयाँमा बिक्री भएको थियो।

    यता चाँदीको भाउमा गिरावट आएको छ। हिजो प्रतितोला ३ हजार ७२० रुपैयाँ रहेको चाँदी आज ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ।

  • तीन महिना नपुग्दै शिक्षा नियमावली पुन संशोधन गर्ने सरकारकाे तयारी

    तीन महिना नपुग्दै शिक्षा नियमावली पुन संशोधन गर्ने सरकारकाे तयारी

    काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो।

    शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको नियम १९९ अनुसार स्थायी सेवाको तीन वर्ष पूरा गरेका शिक्षकलाई मात्र एउटा सामुदायिक विद्यालयबाट अर्कोमा सरुवा गर्न मिल्ने व्यवस्था छ।

    यो तीन वर्षे व्यवस्था गत असार १८ मा भएको दसौँ संशोधनबाट लागू भएको थियो। त्यसयता शिक्षकहरूले अवधि अनावश्यक रूपमा लामो भएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। विशेषगरी नयाँ प्रवेश गरेका शिक्षकले समेत उही अवधि कुर्नुपर्दा आफू मारमा परेको गुनासो गरेका थिए। यही दबाबपछि तीन महिनाभित्रै सरकारले नियमावली पुनः संशोधन गर्न थालेको हो।

    नेपाल शिक्षक महासंघले भने सुरुदेखि नै एक वर्षमै सरुवा खुला गर्नुपर्ने माग राख्दै आएको थियो।

  • कांग्रेस महाधिवेशन: आदिवासी जनजाति सहमन्त्रीमा बहादुरसिंह लामा विजयी

    कांग्रेस महाधिवेशन: आदिवासी जनजाति सहमन्त्रीमा बहादुरसिंह लामा विजयी

    काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए।

    जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका काउछ मगर (२३९२), सपनाराज भण्डारी जोशी (२३५१), सिता कुमारी राना मगर (२१३२), प्रमिला राई (२०२०), लिलादेवी बोखिम लिम्बु (१६८१) र पुनम लामा (१६३६) निर्वाचित भएका छन्।

    जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ १२ पदमा तीर्थ लामा (४४२५), अनुप श्रेष्ठ (२५५१), डा. प्रेमध्वज लामा (२५०५), कर्मा छेरिङ शेर्पा (२४०६), टेकप्रसाद गुरुङ (२०९०), भीम श्रीस मगर (२०४६), रामकृष्ण चित्रकार (१९८२), बुद्ध लामा (१९५६), गेल्जे लामा शेर्पा (१८१९), वंशलाल तामाङ (१७५६), अमृत गुरुङ (१६८९) र सुशील गुरुङ (१६४४) विजयी भएको निर्वाचन समितिले जनाएको छ।

  • बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, मृतकमा अधिकांश बालबालिका

    बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, मृतकमा अधिकांश बालबालिका

    पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, तर कारण खुलेको छैन।

    मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत घोषणा गर्दै उद्धार तीव्र पार्न निर्देशन दिएका छन्। तेजस्वी यादव र केन्द्रीय मन्त्री चिराग पासवानले पनि दुःख व्यक्त गर्दै उद्धार तथा उपचारमा ध्यान दिन आग्रह गरेका छन्।

  • लायन्स क्लब अफ विराटनगर ग्लोबलको १०औँ पदस्थापन सम्पन्न

    लायन्स क्लब अफ विराटनगर ग्लोबलको १०औँ पदस्थापन सम्पन्न

    विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो।

    जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष अनिल रौनियार र उनको नेतृत्वको नयाँ कार्यसमितिलाई पदको शपथ गराएका थिए। साे कार्यक्रममा ग्लाेबलकाे प्रथम उपाध्यक्ष सन्ताेष राैनियार, सचिव मुकेश कुमार यादव र काेषाध्यक्ष चन्द्र कुमारी सरकारलाई समेत पदस्थापन गराइएकाे थियाे ।

    जिम्मेवारी सम्हालेपछि अध्यक्ष रौनियारले क्लबले अहिलेसम्म सञ्चालन गर्दै आएका सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई आगामी दिनमा अझ फराकिलो र सुव्यवस्थित बनाउने बताए। वर्षभर नै निरन्तर रूपमा प्रभावकारी सेवामूलक गतिविधि सञ्चालन गर्ने योजना रहेको उनले जानकारी गराए। क्लबले हालका वर्षहरूमा रक्तदान, वृक्षरोपण, खाद्यान्न वितरण, ज्येष्ठ नागरिकको सेवा तथा मानव सेवा आश्रममा भोजन खुवाउने जस्ता कार्यक्रम गर्दै आएको छ। आगामी कार्यकालमा समाजको वास्तविक आवश्यकतामा आधारित सेवालाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमको प्रभावकारिता बढाउने अध्यक्ष रौनियारले प्रतिबद्धता जनाए।
    साेहि कार्यक्रममा लियाे क्लब अफ विराटनगर ग्लोबलका अध्यक्ष क्रिजन काफ्ले सहित उपाध्यक्ष वेनु खितवडा, सचिव उत्कृष्ट गिरी र काेषाध्क्ष मनाेज बुढाथाेकीलाई पनि नँया कार्यकालकाे लागी आपचारिकरुपमा पदस्थापित गराईएकाे थियाे ।

    समारोहमा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्री, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर उदय नारायण बराल तथा पूर्व डिस्ट्रिक्ट गभर्नर (PDG) हरू  धिराज गुरुङ, लायन बाबरजंग थापा,  लिला ढुंगेल, विजयहरि शर्मा र  रेवतबहादुर कार्कीको उपस्थिति रहेको थियो। साथै लायन्स क्लबका अग्रज, पदाधिकारी तथा सदस्यहरूको पनि सहभागिता थियो। नयाँ नेतृत्वसँगै क्लबको सामाजिक तथा मानवीय सेवा अभियानले थप गति लिने अपेक्षा गरिएको छ।