विराटनगर, मंसिर २। विराटनगरमा १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह विशेष कार्यक्रमका साथ सुरु भएको छ। “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यालय विराटनगरले शनिबार प्रभातफेरी समेत आयोजना गरिएको थियो।
प्रभातफेरीमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। जसमा “समृद्ध निर्माणमा सबैको योगदान”, “यथार्थ कर, विकासको भर”, “स्वच्छ कर प्रशासन विकास र सुशासन”, “नलुकाउ आय तिरौं कर” जस्ता नारा रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले राज्यको नीतिगत व्यवस्थाका कारण करको अवस्था चितबुझ्दो नभएको बताए। त्यसैगरी विराट व्यापार संघका अध्यक्ष अंशु बन्जारा, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष दीपक पौडेल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले देशको आर्थिक अवस्था नाजुक रहेको बताउँदै यसलाई सुधार्न सरकारले विशेष पहल गर्नुपर्ने बताए। त्यस्तै आयाेजककाे तर्फबाट आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भुपाल शाक्यले कर तिर्नु नागिरककाे जिम्मेवारी भएकाे स्मरण गराएका थिए ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले करदातामैत्री वातावरण निर्माण गर्दै करदातालाई कर तिर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।