पति कतै हिडन लागो भने पत्नीले सोध्छे कता हिडेको ? किन हिडेको ? के काम छ ? त्यस्तै पत्नी कतै हिड्न लागे पतीले पनि उसरी नै सोध्छ । त्यति मात्र होइन अव पति वा पत्नी दिउसो कता हुन्छन् के गर्छन सवै खोजखवर र रिपोटिङ एक आपसमा हुन्छ । भन्नलाई यस्तो खोजीलाई केयर भनिएला तर यो त स्थिती र अवस्थाको चाँच हो । पति समयमा घर आई पुगेन भने पत्नीको फोन पतिकोमा पुग्छ र आज्ञा हुन्छ कहाँ छौ ? किन समयमा घर नआएको ? किन ढिलो गरेको ? कि केही छ बिशेष ? तिम्रो चाला ठिक छैन है ?
जव पति घर प्रवेश गर्छ पत्नीका महाबाणीहरु असिना झै बर्षन थाल्छन् । यति रातिसम्म तिमिलाई घर आउन पर्दैन ? के हो हँ ? चाला ठिक छैन नि । विचरा पति दिनभर परिवारको लागि मरिमेट्छ, दुःख गर्छ तर घरमा आउदा तनाव बेहर्नु पर्छ । त्यस्तै पत्नी बाहिर छे भने पनि यस्तै पारा पतिका तर्फबाट हुने गर्छ । अनि यस्तै कुरा बढदै गएर झगडा हुन्छ एक दुई दिन बोल्दैनन् । फेरी मिल्छन् र जीवन अगाडी बढाउछन् । कतिपयको भने डिभोर्स सम्म हुने गर्छ । यस्तो स्थिती भए पछि पति होस या पत्नी तोकिएको समयमा घररुपी जेलमा टुलुक्क आइपुग्नै पर्छ । नत्र विष्फोट हुने गर्छ ।
विवाह विश्वव्यापी प्रवृत्ति हो । त्यसैले हरेकले विवाह गर्नु पर्छ भन्ने मान्यता छ । जव पति पत्नी छोरा छोरीको धनी हुन्छन् तव पति पत्नीको व्यक्तिगत जीवन सकिन्छ । खाने, लाउने, शिक्षा, दिक्षा, विवाह दान आदी गर्दा गर्दै पतिको टुप्पि ठाढो हुन्छ भने पत्नीको चुल्ठो ठाढो हुन्छ । छोरा छोरीको आगमन संगै समस्याहरु थपिदै जाने हुँदा ति समस्याहरु संग जुध्दा जुध्दै आफ्नो जीवनको गुणस्तरियता तिलान्जली दिनु पर्ने हुन्छ । छोरो छोरी जव बढदै जान्छन् तव यसो बाहिर कतै गयो छोरा छोरीले फोन गरेर यो ले उ ले छिटो घर आईज भन्दै दास बनाउछन् । छोराछोरीको डिमाण्ड र ताकेताले स्वतन्त्रतापूर्वक आफुले इच्छाएको कार्य गर्न नपाउने र लुरुलुरु जेल रुपी घर जानु पर्ने हुन्छ ।
पति पत्नि मात्र नभएर हजुरवा, हजुरआमा, काका काकी, दाजु भाई दिदी बहिनी लगायत जति परिवारमा हुन्छन् ति सवैको चुम्वकिय आकर्षण हुने गर्छ । जसले गर्दा कोही एकबाट फुत्किएर बाहिर जान वा भाग्न सक्दैन । थाहा नपाउने गरी परिवारका सवै सदस्यहरुलाई प्रेमरुपी वा बाध्यतारुपी साङलोले बेरेर राखेको हुन्छ ।
परिवारका वीच माया ममता हुने गर्छ र हुन आवश्यक पनि छ । तर सामान्यतया एक्लो हुँदा जति सजिलो आनन्द र स्वतन्त्रता हुन्छ परिवारको संरचनामा प्रवेश गरिसकेपछि ती सवै सकिन्छन् । परिवारको पालन पोषण कार्य र कर्तब्यको नाममा हरेक सदस्य एक अर्काको दास जिवन विताउनु पर्छ । यद्यपी परिवारिक सुखलाई अमुल्य सुख मानियो । जब परिवार मर्र्या्दित हुन्छ, उत्तरदायी हुन्छ, सुखी हुन्छ, खुसी हुन्छ, तब सबै दुःख, कष्ट, पीडा, अभाव नष्ट हुन्छ । जहाँ पारिवारिक सुख हुन्छ त्यहाँ जीवनको सर्वोच्चता हुन्छ । समाजले निर्धारण गरेको मूल्य र मान्यता र आदर्शलाई आत्मसात गर्दै मानिस पारिवारिक जीवनमा रमाएर अगाडी बढनु पर्ने हुन्छ । हिन्दु धर्मले परिवारलाई श्रेष्ठ संस्थाका रुपमा पनि परिचित गराएको छ ।
परिवार एक सुन्दर परिकल्पना हो । हरेक मानिस परिवारमा जन्मन्छ । परिवारमा नै हुर्कन्छ र परिवारमा नै मृत्युवरण गरी जीवनको अन्त्य गर्दछ । विश्वभरि नै परिवारको कल्पना गरिएको छ र सोही बमोजिम परिवारको प्रथा र प्रचलन चलेको छ । आदिम कालमा समेत मानिसहरु परिवारमा एकतृत भै बसोवास गरेको देखिन्छ । मानवको अस्तित्व सुरु भएदेखि संयुक्त परिवारको अभ्यास अगाडी बढेको हो । तर जव मानिसहरु बुझने भए तव परिवार संयुक्त रुपबाट एकल तर्फ अगाडी बढदै गएको देखिन्छ । हाल विश्वभरी प्राय एकल र संयुक्त परिवार प्रचलनमा छ । विशेषगरी विकशित देशहरुमा एकल र विकासशिल देशहरुमा संयुक्त परिवारको अभ्यास निरन्त्तर अगाढी बडिरहेको छ ।
परिवारको संरचनाको गुणगान गाएर, परिवारको यस्तो र उस्तो राम्रो भनेर चर्चा परिचर्चा गरेर हरेक मानिसलाई पारिवारिक भूमरीमा फसाउने षडयन्त्र मात्र हो । मानिस जिम्मेवार र उत्तरदायी बन्दै अधोषित जेल जीवन बाँचोस भन्ने एक प्रकारको मनोवैज्ञानिक दवार परिवारको परिभाषा र व्यवहारले सृजना गरेको हुन्छ ।
तर अहिले धेरै मानिसहरुमा परिवार प्रतिको बितृष्णा जागृत भएको छ । आमाबुवालाई बृद्धाश्रममा लगेर राखी दिन्छन् । छोराछोरीलाई होस्टलमा राख्छन् र एक्लो जीवनमै रमाउने अभ्यास पनि गर्छन् । यसरी हेर्दा परिवार प्रतिको सकारात्मक संगै नकारात्मक घारणा अभिव्यक्त हुदै आएको छ । परिवारमा माथिल्लो पुस्ताले संस्कार, सम्भता र आचरण सिकाउने बहानामा रुढिवादी र अनावश्यक कुराहरु थोपार्ने गर्दछन् । परिवारलाई मर्यादित बनाउने निहुँमा तल्लो पुस्तालाई बोझ थोपार्छन । यस्ता परिवारका तमाम विकृति र विसंगतिले धेरै परिवारलाई टुक्र्याएको छ । बद्लिदो जीवनशैली र प्रतिस्पर्धाले पारिवारिक जीवन तनाव र बेचैनी रुपान्त्तरण गरिदिएको छ ।
तर पारिवारिक जेल अपराधि बस्ने जेल जस्तो हुदैन यो त नदेखिने तर अनुभव गर्ने मात्र हुन्छ । पारिवारिक जेल वर्वर र जर्जर हुन्छ । किनभने पारिवारिक जेलमा आफनो खुसी भन्दा अरुको खुसीलाई महत्व दिनु पर्ने हुन्छ । आफ्नु लागि भन्दा अरुको लागि सधर्ष गर्नु पर्ने हुन्छ । अरुको लागि बाँच्नु पर्ने हुन्छ । चाहेर होस वा नचाहेर मानिस यो भूमरीमा पर्ने गर्छ । मानिस एक स्वतन्त्र प्राणी त हो, उ सधै स्वतन्त्र भएर नै बाँच्न चाहन्छ तर दुर्भाग्य स्वतन्त्रताको परिकल्पना मनमा गर्दछ व्यवहारमा बाध्यताबस लागु गर्न सक्दैन । कुनै न कुनै परिबन्धमा परि नै रहेको हुन्छ । त्यसैले परिवारलाई एक प्रकारको खुल्ला जेल भन्न सकिन्छ । जहाँ मानिसहरु सामुहिक रुपमा कैदीको रुपमा जिवन विताउन बाध्य हुन्छन ।
के पारिवारिक जेल जिवनबाट मुक्ति सम्भव छ त ? मुक्ति सम्भव छ त होला तर जानेर होस वा नजानेर पारिवारिक जीवनमा होमिएको व्यक्ति पारिवारिक संरचनाबाट बाहिर निस्कन सक्दैन । परिवारमा अनेक समस्या हुन्छन् । परिवार संचालन गर्न सजिलो पनि छैन । बाधिएर बस्नु पर्ने बाध्यता छ ।
पारिवारिक भूमरीबाट टाढा भयो भने पहाडै खस्छ भन्ने सिकाई र बुझाई छ । बंश परम्परा कायम गर्न पारिवारिक जीवनमा दत्त चित्तले लागेको मान्छे प्रकृतिको नियमलाई तोडन पनि सक्दैन । जस्ता सुकै पारिवारिक झै झमेलालाई पनि मानिसले बाध्यतावस स्वीकार गरेको छ । यसरी पारिवारिक समर्पण त्याग र बलिदानले पारिवारिक जेल जीवनबाट मुक्ति दिदैन । त्यसैले मृत्यु नै मानिसको पारिवारिक जेल जीवनको मुक्ति हो भन्दा अतियुक्ति नहोला ।