
विराटचाैक, माघ २७ । मोरङको सुन्दरहरैँचा-१० स्थित विराटचौकमा चौथो विराट एक्स्पो माघ ३० गतेदेखि फागुन १० गतेसम्म आयोजना हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको यो एक्स्पोमा १९४ वटा स्टल रहने छन् ।
एक्स्पोमा औद्योगिक सामग्रीका ११४, कृषि तथा घरेलु सामग्रीका ४०, अटोमोबाइल्सका १५, होटलका १६ र मुख्य प्रायोजकका ९ वटा पेभिलियन समावेश गरिएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीका अनुसार एक्स्पो आयोजनामा ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उनले करिब तीन लाख दर्शकले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिए ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो आयोजक समितिका संयोजक एवं सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भोलेश्वर दूलालले नगर क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो आयोजना गरिएको बताए । उनका अनुसार आठवटा सार्वजनिक शौचालय निर्माणको लागि १५ करोड ६२ लाखको डिपीआर तयार भएको छ । हालसम्म विराटचौक र सलकपुरमा दुईवटा शौचालय सञ्चालनमा आइसकेका छन् भने खोर्साने र हरैँचामा निर्माणको अन्तिम चरणमा पुगेका छन् । बाँकी चारवटा शौचालय बलियाचौक, गछिया, गोठगाँउ र मृगौलियामा निर्माण गरिने र यसको कुल लागत १५ करोड ६५ लाख हुने संयोजक दुलालले जानकारी दिए ।