
सुन्दरहरैंचा, माघ ३० । नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले मङ्गलबार सुन्दरहरैंचाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ज्योतिषसम्बन्धी आधारभूत प्रशिक्षण दिएको छ ।
परिषद्को दोस्रो बोर्ड बैठक तथा प्रशिक्षण कार्यक्रम आज सुन्दरहरैंचाको औद्योगिक प्रदर्शनी स्थलमा सम्पन्न भएको हो । सिद्धार्थ सेकेण्डरी स्कुल र ब्राइट फ्युचर सेकेण्डरी स्कुलका १ सय जना विद्यार्थीलाई परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला तथा निवर्तमान कोशी प्रदेश अध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख सन्तोष पोखरेलले प्रशिक्षण दिएका थिए ।
ज्योतिषसम्बन्धी जानकारी नभएकाले ज्ञान लिने सही उमेर पहिचान गरी कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई एक्स्पो स्थलमा प्रशिक्षण दिइएको परिषद्का प्रदेश अध्यक्ष निरौलाले जानकारी दिए । उनले वास्तुसम्बन्धी प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण विभाग प्रमुख पोखरेलले विद्यार्थीलाई पञ्चाङ्गसम्बन्धी जानकारी दिएका थिए । सम्पूर्ण ब्रह्माण्ड र विज्ञान नै ज्योतिषीय प्रमाणका आधारमा सञ्चालन भइरहेको उनले विद्यार्थीलाई जानकारी दिए ।
सुन्दरहरैंचा विराट एक्स्पोको औपचारिक उद्घाटनको पूर्व सन्ध्यामा एक्स्पो स्थलमा स्वस्तिवाचन गरेर एक्स्पो सफलताको कामना गरिएको थियो । कार्यक्रममा सुन्दरहरैंचा विराट एक्स्पो ४ मूल समारोह समितिका संयोजक भोलेश्वर दुलाल, नेपाल ज्योतिष परिषद्का अध्यक्ष विश्वप्रकाश लामिछाने, महासचिव नगेन्द्र रोइला लगायतको उपस्थिति थियो ।