
विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो ।
बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाले जीयर स्वामीको विशेष तत्वावधानमा कार्यक्रम हुन लागेको जानकारी दिए । यज्ञमा दैनिक ५ हजार भक्तजन उपस्थित रहने खतिवडाले बताए । यस्तै सामुहिक ब्रतबन्धको कार्यक्रम समेत राखिएको छ । जसमा जतिजना बटुक हुन्छन् सोही अनुरुप प्रत्येकको छुट्टै यज्ञादीको व्यवस्था गरिएको जानकारी दिइयो । सामुहिक ब्रतबन्ध भनिएपनि बटुकहरुले आ आफ्नो कर्म गराउन पाउने जानकारी दिइयो ।
यस्तै धार्मिक अभियन्ता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले विराटनगरमा आउनलाग्नु भएका चिन्न जीयर स्वामीको स्वागतमा हुने सवै काम सम्पन्न भएको बताए । विद्धान धार्मिक व्यक्तित्वको आगमनलाई विराटनगरले गौरवकारुपमा लिएको र कार्यक्रम सम्पन्न गराउन लागिपरेको जानकारी दिए । यस्तै मन्दिरका सल्लाहकार तथा धार्मिक गुरु स्वामी रामानुज नेपालले भागवत आराधना,प्रबन्ध पाठ हवन,प्रवचन तथा महाउत्सव हुने जानकारी दिए । चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यता हुने भएकाले यसमा सम्लग्न हुन धर्मानुरागीहरुको विभिन्न जिल्लाबाट सहभागि रहने बताए । यज्ञस्थलमा ५ दिन विभिन्न धार्मिक अनुष्ठान सहित अरणिमन्थन,अग्निप्रतिष्ठा,भगवानका सेवा आराधना,वेद,इतिहास,पुराण,स्त्रोत्र आदी गरिने छ । पत्रकार सम्मेलनमा मन्दिरका महासचिव युवराज धिताल,धार्मिक अभियन्ता देवेन्द्र गुप्ता,लालमोहन ठाकुर,अनन्त पराजुली,रमेश आचार्य लगायतको सहभागिता रहेको थियो ।