
काठमाडाैं, चैत ७ । भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि नेपालमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ। विशेषगरी औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ। यही बीच ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विद्युत् कटौतीको विषयमा मतभिन्नता देखिएको छ।
ऊर्जामन्त्री खड्काले राष्ट्रिय सभाको बैठकमा स्पष्ट रूपमा उल्लेख गरे कि “अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ।” उनका अनुसार भारतबाट ८३० मेगावाट बिजुली आयात र १,००० मेगावाट मात्रै आन्तरिक उत्पादन भएकाले यस्तो अवस्था सिर्जना भएको हो।
तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने आमजनताको घरमा लोडसेडिङ नहुने दाबी गरेका छन्। उनको भनाइमा बक्यौता नतिर्ने उद्योगहरूलाई प्राथमिकतामा राखी राति बिजुली कटौती गरेर भए पनि घरघरमा बिजुली पुर्याइने छ। “कुलेखानी र अन्य अर्धजलाशययुक्त आयोजना साँझ र राति मात्रै चलाइरहेका छौं। आन्तरिक उत्पादन नै राति १२०० मेगावाटभन्दा बढी हुन्छ।” घिसिङले भने। स्राेत अनुसार भारतले चैत ३ देखि दिनको १२ घण्टा मात्रै बिजुली आयात गर्न दिएको कारण यस्तो समस्या सिर्जना भएको हो। साँझको समयमा आयात गर्न नपाउँदा बिजुली व्यवस्थापनमा चुनौती थपिएको छ।
प्राधिकरणका अनुसार हाल १,९३५ मेगावाट आन्तरिक माग रहेकोमा १,४६१ मेगावाट आन्तरिक उत्पादन र १०० मेगावाट आयात भइरहेको छ। तर माग र आपूर्तिबीचको अन्तरले औद्योगिक क्षेत्रमा चरम समस्या सिर्जना गरेको छ। वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीहरूले उत्पादन ५० प्रतिशतसम्म घटेको र बिजुली ट्रिपिङको समस्याले उद्योग थप प्रभावित भएको गुनासो गरेका छन्।