
काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् ।
पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए । त्यसपछि शाहीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यो काम माओवादी केन्द्रका कार्यकर्ताहरुले गरेको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘मेरो भाइरल फेक च्याट माओवादीले यसरी बनाएका थिए। हामीलाई नैतिक पतन गराउन माओवादीका साथीहरू नक्कली मान्छे खडा गरेर नक्कली काम गर्दैछ। यस्ता नक्कली गतिविधि गर्न तत्काल बन्द गर्नुस् । सत्यको बाटोमा हिँड्नुस्। सबैलाई यसरी फेक च्याटबाट सुरक्षित र सवधान रहन अनुरोध गर्दछु।’