
काठमाडाैं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ।
लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ।
यसअघि पनि लामिछानेले उच्च अदालत बुटवलको थुना आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए, जसमा सर्वोच्चले सम्बन्धित अदालतहरूबाट कागजात झिकाइसकेको छ। उक्त मुद्दाको टुंगो लाग्न समय लाग्ने भएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन समेत दायर गरेका हुन्।
सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएकोमा तुलसीपुर उच्च अदालत बुटवल इजलासले चैत २२ गते सो आदेश बदर गरी थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि प्रहरीले लामिछानेलाई घरबाटै नियन्त्रणमा लिई हाल जिल्ला कारागार रुपन्देहीमा राखिएको छ।