✍राकेश कर्ण
विराटनगर, कात्तिक १०
बदलिँदो समय परिवेशसगै देउसी र भैलोले आफ्नो मौलिकता गुमाउँदै गईरहेको छ ।
अहिले केही समुहहरुले देउसी भैलोलाई आधुनिकीकरण गर्ने नाममा आफनो मौलिक परम्परालाई नै ओझेलमा पारिदिएका छन । बिशेष गरी मादल र स्थानीय लोकबाजा बजाएर खेलिनुपर्ने देउसी भैलो केही बर्ष यतादेखि बिस्तारै मेमोरी कार्ड वा पेनड्राईभमा सिमित भएको छ । आधुनिकीकरणको नाममा रेकर्ड गरिएका गीतहरुको साहारा लिँदै बेतालको नृत्य देखाउँदै आजभोली दैउसी भौलो खेलिन थालिएको छ ।
हिजोआज गाइने देउसी, भैलो र देखाइने नृत्यमा कुनैपनि किसिमको मौलिकता झल्किदैन । अधिकांश देउसी भैलो खेल्ने समूहहरुले हिन्दी र नेपाली चलचित्रका गीतहरुमा देउसी भैलो प्रदर्शन गरिरहेका हुन्छन् । न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली नै । आजका युवा पुस्ताले देउसी भैलोको मौलिकता बुझेका छैनन् । ठूलो स्वरमा बज्ने साउन्ड बक्समा गीत घन्काउँदा मनोरञ्जनभन्दा बढी हल्ला मात्रै हुने गरेको छ । ठूल्ठूलो स्वरमा गीत बजाउँदै चिच्याउँदै देउसी भैलो खेल्नेहरु हिँडेको देख्दा आफूहरुलाई रमाइलोभन्दा बढी डर लाग्ने गरेको स्थानीय वृद्धवृद्धाहरु बताउँछन् ।
विराटनगरका पुरुषोत्तम भट्टराई भन्नुहुन्छ – “पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजाहरु र गीतहरु देख्न सुन्न पाइन्थ्यो तर, आजभोलिका आयातित गीतहरु सुन्न पर्दा वाक्क लाग्छ । पहिले आफैं भट्याएर देउसी खेल्दा छुट्टै मजा आउँथ्यो अनि हेर्नेलाई पनि रमाइलो लाग्थ्यो । आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन् । केही वर्षपछि लोकबाजा र भैलीकै मौलिकता हराउन सक्ने उहाँको चिन्ता छ ।
विराटनगरकी ६१ वर्षीय सत्या चौलागाई भन्छिन, “पहिला पहिला देउसी भैलो खेल्दा सबैले लोकगीत आफैले गाउने, मुरली, मादल, खैजडी, झ्याली, टयाम्को लगायतका मौलिक बाजाहरु बजाउने गर्थे । तर अब ती सबै कुरा एकादेशका कथा मात्र भए ।”
समय सँगसँगै परिवर्तनको लहरमा दौडिनु त ठीकै हो तर आफ्नो संस्कृति र मुल्यमान्यतालाई चैं बिर्सनु हुँदैन । ठूल्ठुला साउन्ड बक्सहरुमा गीतहरु घन्काउदै हल्ला गर्दै देउसी भैलो खेल्नु संस्कृतिको अपमान गर्नु सरह नै हो ।