विराटनगर, कात्तिक ११
देउसी भैलोको प्रचलन नेपालको मध्यकालदेखि सुरु भएको अनुमान गरिएको छ । यसको आधिकारिक प्रमाण नभएपनि किवदन्तीहरुले जुम्लाका राजा बलीसँग यो संस्कृतिलाई जोड्ने गरेको पाईन्छ ।
खासमा जुम्लामा खस राज्यको पतन भएपछि एकजना बली नाम गरेका व्यक्ति जन्मिएका थिए । उनकी आमा उत्तर भारतको काश्मीरबाट गर्भिणी अवस्थामा नेपाल प्रवेश गरेकी थिइन् । तीर्थ जान हिँडेकी उनी नेपाल आएर जुम्लाको कल्लै भन्ने ठाउँमा एक थापा क्षेत्रीको घरमा बास बसेकी थिइन् ।
एकदिन काश्मीरबाट आएका विद्वान तीर्थयात्री चन्दननाथले बलीलाई राजा हुन योग्य देखेर राजाविहीन ‘सय घर भएको खसदेश’ गाउँको राजा घोषित गरेको किंवदन्ती पाइन्छ । उनी कल्लै गाउँमा जन्मिएकोले उनले आफ्नो वंशलाई पनि कल्याल वंशको नामबाट सुरु गरेका थिए ।
त्यो समयमा पश्चिम नेपालमा दास-दासी प्रथा चलिरहेको थियो । यो प्रथा अनुसार आफ्नै छोराछोरी वा कुनै गरिबको छोराछोरी किनेर मन्दिरमा बलि दिने गरिन्थ्यो ।
लक्ष्मी पूजाको दिन बली राजाले देवदास र देवदासीको वृत्तिका लागि भिक्षा माग्न घर घरमा जाने अनुमती दिए । उनीहरुलाई लक्ष्मीपूजाको दिनदेखि माग्न पाउने अधिकार दिएको तथा देउसीलाई अपमान नगर्न र सकेको भिक्षा दिन पनि उनले सबैलाई उर्दी जारी गरेका थिए । त्यतिबेला नै औशींको दिनदेखि खेलिदै आएको देउसी भैलो हाल सम्म प्रचलनमा छ । भैलीको अर्थ तपाईको भलो होस् भन्ने हुन्छ । बिशेषगरी भैली देवदासीहरुले औंशीको दिन मात्रै खेल्ने पर्व हो । देउसी कात्तिक शुक्ल प्रतिपदाको दिनदेखि खेलिन्छ ।
तिनै बलीराजाले पठाएका देवदासहरुले आफू आएको जानकारी दिनको लागि ‘देवदासी रे’ भन्न थाले । त्यसैको अपभ्रंश रुप देउसी रे हुन थालेको संस्कृतिविदहरुको भनाई छ ।