विराटनगर, माघ ५
रोयल मार्बल प्रालि कम्पनीले राजस्व छली गरेको भन्दै आन्तरिक राजस्व कार्यालय विराटनगरले कम्पनीको कागजात नियन्त्रणमा लिएको छ ।
विराटनगर धरान रोडअन्तर्गत कन्चनबारीमा सञ्चालन हुँदै आएको रोयल मार्बल प्रालिको राजस्व कार्यालय विराटनगरले कागजात नियन्त्रण लिई कारवाहीको प्रक्रिया समेत अघि बढाएको छ ।
उक्त कम्पनीले राज्यको विभिन्न निकायबाट राजस्व तथा कल छली गर्ने गरेको खुलेको छ । रोयल मार्बलले मार्बल तथा अन्य समान भारतबाट आयत गर्दा भन्सार छली देखि उक्त मालसमान बिक्रि गर्दा कर समेत छल्ने गरेको पाईएको छ ।
रोयल मार्बलको सञ्चालकमा राजेश कुमार अग्रवाल, दिपेश तायल र अमित सिंघल छन् । रोयल मार्बलले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०७५ साल मंसिर १७ देखि ६०६६१२८८१ नम्बरको भ्याटमा दर्ता भई मार्बल र टायल्सको काम गर्दै आएको छ ।
स्रोतका अनुसार उक्त कम्पनीले बिलबीजक जारी गर्दा सक्कली बिलमा कम मूल्य कायम गर्ने र नक्कली बिलमा बढी मूल्य कायम गरी कर छल्ने गरेको छ ।
त्यसबाहेक पनि विभिन्न फुजल खर्च देखाएर व्यापक आयकर छली गर्ने गरेको संचालकहरु माथि आरोप छ ।
रोयल मार्बललाई राजस्व कार्यालयले दुई पटक फुल अडिट गरी हिसाब मिलाउन सचेत गराएता पनि संचालकहरु अटेर गरेर बसीरहेका छन् ।