माग्ने पनि कस्ता कस्ता ?
नेपालमा भिखारी दुई प्रकारका देखिन्छन् । एकः गरिव भएर खाने, लाउने, बस्ने प्रवन्ध नभएकाहरु घर घर माग्दै हिड्ने भिखारी । दुईः सुट टाई लाउने, महलमा बस्ने, महङा महङा गाडी चढने भिखारी । यहाँ चर्चा गर्न खोजिएको दोस्रो भिखारीको हो । झट्ट सुन्दा अचम्म लान्न सक्छ । सुट टाई लगाएर पनि भिखारी कसरी भए । हो कसै संग भिख माग्न पनि एउटा भाडो चाहिन्छ । गरिव भिखारीको भिख माग्ने साच्चिकै हलुङो वा स्टिलको भाडो हुन्छ भने । सम्भ्रान्त टाई सुट धारी भिखारीहरुकोे भाडो भनेको राजनैतिक दल वा अन्य केही हुन्छ । राजनैतिक दल वा अन्य केहीलाई बहाना बनाएर अनेकौ उद्योगी व्यापारी देखि लिएर पैसा हुने संग र नहुने संग पनि थर्काएर भए पनि भिख माग्ने गरेको देखिन्छ । यस्ता संम्भ्रान्त भिखारीहरुको एक मात्र लक्ष्य लाखौ भिख माग्ने मोज मस्ती गर्ने हुन्छ । सायद सुट टाई लगाएर भिख माग्ने भिखारी नेपालमा मात्र होलान् । विदेशीहरु पनि भिखारीको गेटअप देखेर आश्चर्य चकित हुन्छन् होला । भिख दिने चाही कट्टु लाएर हिडछ । भिख माग्ने चाँही सुट टाईमा सजिन्छ ।
सुट टाई धारी भिखारीहरु भिख मागेर नै आम श्रमजिवी वर्ग भन्दा उपल्लो जीवनस्तर विताउछन् । महङा महङा लुगा लाउछन् । स्टार होटेलमा ज्यूनार गर्छन् । हाछ्यू आयो भने उपचारका लागि जहाज चढेर विदेशका महङा हस्पिटल तिर धाउछन् । आसे, पासे नन्दी भृगी सवैलाई भिख मागेको पैसाले पाल्ने गर्छन । यी टाई सुट धारी दोग्ला, स्वाभिमानहिन राष्ट्रघाति भिखारीहरुको जीवनस्तर परिवर्तन भएको देख्दा आम मानिस अचम्ममा परेका छन् । हिजो चप्पल लाएर हिडने आज प्राडो चडछ । काम केही गर्दैन । जागिर छैन । व्यापार छैन । तर भिग माग्ने कुरालाई नै व्यवसाय बनाएर आलिसान जीवन विताई रहेको देखिन्छ ।
सरकारले काठमाण्डौमा भिख माग्न नपाउने नीति ल्याएको छ । यो नीति कार्यान्वयन भए राम्रो हो तर उदेक चाँही के छ भने नेपाल सरकार विदेशी प्रभु संग भिख मागेर नै चलिरहेको छ । सरकारको तौर तरिका र रवैया र नीति हेर्दा थोत्रो मोत्रो भएर भिख माग्न नहुने भन्ने बुझिन्छ । के भिख माग्नका लागि खैरोै सुट टाइमा नै सजिनु पर्ने हो रु त्यस्तो भेषमा विदेशी सामु लम्पसार परेर भिख माग्नु पर्ने हो रु होइन भने गरिव गुरुवाले आफ्नो जीवन धान्न भिखारी बन्न नहुने तर सरकारले विहान देखी राती सम्म हात पसारेर भिख नै मात्र मागि रहनु पर्ने । यदी सरकारले आफ्ना नागरिकलाई भिखारी बन्नबाट रोक्छ भने स्वयम सरकारले पनि भिखारीको विल्ला फाल्नु पर्छ कि पर्दैन रु सरकारले जनताका नाममा भिख माग्ने र मोजमस्ती गर्ने त्यो ऋणको भागिदार नेपाली जनता बन्नु पर्ने कस्तो विडम्वना हो रु त्यसैको परिणाम स्वरुप नै अहिले हरेक नेपालीको थाप्लोमा करीव बत्तिस हजार ऋणको भारी छ । यसको जिम्मेवारी कस्ले लिन्छ रु सरकारको भनाई र गराई मिलेन । पहिला आफु भिख माग्न छाड्नु पर्छ त्यसपछि गरिव भिखारीलाई भिख माग्नबाट रोक्नु राम्रो हुन्छ ।
यहाँ गरिब भिखारी त कति नै नहोलान् र रु त्यसको धेरै गुणा बढी खैरा कोटधारी भिखारीहरु छन् । सत्ताको आडमा भिख माग्ने यस्ता आधुनिक भिखारीहरुले गरिव जनतालाई चुसेर खोक्रो पारिसकेका छन् । अव त विद्यालय र विश्वविद्यालयले पनि भिख कसरी माग्ने भनेर पाठ्यक्रम बनाई पढाउनु पर्ने बेला आए जस्तो छ । त्यसरी शिक्षा दिए यहाँका आधुनिक भिखारीहरुले मागेर नै दक्षिण एसिया किन्ने थिए होलान् जस्तो लागि सकेको छ । भिख मागेर नै मुलुक र आफुलाई चलाउने जुन प्रवृत्ति छ त्यसलाई तुरुन्त बन्द गरिनु पर्छ । भिख मागेर राष्ट्र चलाउछु भनेर कसैले सोचेको छ भने त्यो राजनेता होइन त्यो त भिखारीहरुको अध्यक्ष मात्र बन्न योग्य व्यक्ति हो ।
सामान्यतया भिखारी भन्नाले जीवन धान्न र बाँच्नको लागि कुनै उपाय नभए पछि हात पसारेर घरघर गएर केही अन्नपात र पैसा माग्ने मान्छेलाई बुझिन्छ । भिखारीको कुनै पहिचान हुदैन । तर यहाँ त पहिचान प्राप्त भिखारीहरु छन् । राज्यको लोगो देखाएर भिख माग्नेहरु छन् । बहाना बनाई बनाई पैसा माग्ने, लुटने र भूटने भिखारीहरु पनि छन् । अव यस्तो अवस्थालाई हेर्दा भिखारीको परिभाषा नै परिवर्तन गर्नु पर्ने हुन सक्छ । सामान्यतया अहिले देशको स्थितीलाई हेर्दा भिखारीको नयाँ परिभाषा स्थापित भएको छ । राणा शासन, पञ्चायत हुदै गणतन्त्र सम्म देश आइपुग्दा भिखारीहरुले भिख माग्ने राशी र रकममा पनि बृद्धि भएको छ । त्यसमा पनि सुट टाई धारी भिखारी सानो तिनो रकम लिन नै मान्दैनन । सम्भ्रान्त र आधुनिक भिखारीहरुको भिख माग्ने तौर तरिका फेरिएको छ ।
सरकारले बाटो घाटोमा हिड्ने भिखारीलाई पक्रने, थुन्ने जस्ता कार्य गर्नु हुदैन । किनभने उनीहरु समाजका खासै समस्या होइनन् । समस्या त यहाका आधुनिक भिखारीहरु हुन् । जो सुट र टाईमा सजिन्छन् अनि जनतालाई विभिन्न बहानामा लुट्छन् । त्यस्ता उच्च कोटीका भिखारीहरुबाट जनता पाइलै पिच्छे ढगिएको छ । गरिव जनताको बाँच्ने आधार समाप्त भएको छ । त्यसैले माग्ने कार्यलाई रोक्नु पर्छ । मागेर खानु भनेको स्वाभिमानमा ठेस पु–याउनु हो । माग्नु कुनै पनि हालतमा राम्रो काम होइन । कोहीसंग केही मागेर खाइन्छ भने त्यसको बदलामा दिनेले केही न केही स्वार्थ पुर्ति गर्ने तर्फ दिमाख लगाउदछ । माग्ने भिखारी र दिने दाता दुवै राष्ट्र विकासका बाधक हुन् ।
तपाई खैरो, निलो हरियो जस्तो कोट लगाउनु होस । त्यो कोटको इज्जत राख्नुहोस् । खैरो कोट लाउने अनि त्यसको दुरुपयोग गरेर देश र जनताप्रति बदनियत राख्ने, सके जती माग्दै जाने र अन्तमा देशै सवै बेच्दा पनि तिर्न नसक्ने ऋणको भारी जनतालाई बोकाउने जुन अवस्था र प्रवृत्ति यो देशमा छ त्यो तुरुन्त बन्द गरिनु पर्छ । सम्भ्रान्त भिखारीहरुलाई कानूनको दायरामा ल्याई कारवाही गर्नु पर्छ । एउटा जन्मिने वित्तिकैको बच्चाको थाप्लोमा लागेको ऋणको जिम्मेवारी कसले लिन्छ ?
के नेपालमा जन्मनु हाम्रो लागि अभिषाप हो ? के नेपाल सधै भिख मागेर नै चल्ने चलाउने हो ? यस्ता अनेकौ प्रश्न आजका युवाको मनमा मढारिएका छन् । देशमा तमाम स्रोत र सान प्रकृतिले उपहारका रुपमा दिएको छ । त्यसलाई व्यवस्थापन मात्र गरे विदेशी संग भिख माग्नै पर्दैन । काम गर्नु पर्छ । गफ गरेर देश बन्दैन । काम गरियो गराइयो भने भिख पनि माग्नु पर्दैन । त्यसैले राज्यले भिख माग्न के के हर्कत गर्नु पर्छ भनेर नागरिकलाई सिकाउने होइन । नागरिकलाई त गरिखान सिकाउने हो । स्वाभिमानी बन्न सिकाउने हो । आत्मसम्मान सिकाउने हो । श्रमजिवी बन्न सिकाउने हो । परनिर्भरता त्यागेर आत्मनिर्भर हुन सिकाउने हो । तर खोई त सरकारले के सिकाएको छ ? अहिले सम्म कयौ सरकार आए भिख माग्ने बाध्यताको अन्त गर्न सकेन । पासपोर्ट बनाउन सिकाएर हुदैन । श्रम, उन्नती र पसिनामा गर्भ गर्न सिकाउनु पर्छ । इतिहासमा पुर्खाले लडेर जोगाएको यो देश भिख माग्ने देश होइन भनी संसारभर चिनाउने तर्फ पहल गर्नु पर्छ ।