
विराटनगर,३ चैत्र । विराटनगरमा वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज विषयक धार्मिक प्रवचन सम्पन भएको छ । शनिबार श्री श्री श्री चिन्न जीयर स्वामी महाराजले दिनुभएको प्रवचनमा कोशी प्रदेशका विभिन्न धर्मानुराघीहरूको सहभागीता रहेको थियो ।
प्रवचन कार्यक्रममा बेद र सनातन धर्मले अगालेका विषयहरूनै मानव जीवनका लागि मोक्ष पाउने उत्तम बाटो भएको बताइयो । बेदले भनेको विषयलाई अहिलेको विज्ञानले समेत अंगिकार गरेको भन्दै स्वामीले सनातन धर्म र बेदको रक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले गौं रक्षाका लागि लाग्न पनि आग्रह गर्नुभयो । सनातन धर्मले बताएको वर्तमान र भविष्य विज्ञान भन्दा माथि रहेको उहाँको भनाइ थियो । वैदिक सनातनलाईनै विज्ञानले अंगिकार गर्दै अनुसन्धान गरिरहेको र सोही अनुसारनै रहेको प्रमाणित हुदै गएको दावी उहाँको थियो ।
उहाँले आफ्नो जीवनलाई बदल्न अन्यकुराले शान्ति नदिने बताउनु भयो । वैदिक धर्म र सनातन कर्मले मानिसलाई सत्कर्ममा जोड्ने भएकाले आफ्ना् स्वधर्म नछोड्न आग्रह गर्नुभयो । मानिसले जसरी भोक लागेको कुरा देखाउन सक्दैन त्यस्तै भगवान पनि देख्न नसकिने तर अनुभुती गर्न सकिने उहाँको भनाइ थियो ।
प्रवचन कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला,मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,धार्मिक अभियन्ता इन्दिरा रिजाल,सुरेश शर्मा, श्याम पौडेल,उद्योगी तथा सामाजिक अभियन्ता राजेन्द्र राउत,पर्यटन व्यवसायी भविश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
यही चैत्र १ देखि ५ गतेसम्म कञ्चनबारी पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ भइरहेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाले यो अभियानको नेतृत्व गरिरहेका छन् । उनले जीयर स्वामीको विशेष तत्वावधानमा कार्यक्रम भइरहेको बताए । सोही कार्यक्रम अन्तरगत कोशी प्रदेशका प्रवुद्ध व्यक्तिहरु संग धार्मिक प्रवचन गरिएको हो ।