
विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार प्रतियोगितामा झापा, सुनसरी, मोरङ र आयोजक राष्ट्रिय बहिरा क्रिकेट संघ गरी चार टिमको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेता टिमले नगद ९० हजार रुपैयाँ र उपविजेता टिमले नगद ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस प्रतियोगिताले बहिरा समुदायका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने र क्षमता विकास गर्ने अवसर प्रदान गर्नेछ।
पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले प्रतियोगिताको उद्देश्य बहिरा समुदायमा क्रिकेट खेलको विकास र प्रवर्द्धन गर्नुका साथै उनीहरूको आत्मविश्वास बढाउने रहेको बताए। यसले बहिरा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्षम बनाउने उनको भनाई छ।
प्रतियोगिताका सबै खेलहरू नि:शुल्क अवलोकन गर्न सकिने र दर्शकहरूलाई उत्साहजनक वातावरणमा खेल हेर्न आउन अध्यक्ष तिवारीले आग्रह गरेका छन्। बहिराहरुपनि क्रिकेट खेल्न सक्छन् भन्ने मनसाय बाट खेलको शुरुवात भएको दोभाषे सन्तोषी घिमिरेले जानकारी दिइन् । क्रिकेट खेल हुनु एकदिन अगावै बुधबार विराटनगर स्थित ट्राफिक चोकमा बहिरा खेलाडीहरुले सुचना प्रवाहिकरण गरेका थिए । उनीहरुले भने “हामिले क्रिकेट खेलेको हेर्न आउनुहोस् । यहाँहरुलाई कस्तो लाग्छ ?”