
विराटनगर, चैत ३१ । पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्।
नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे कोषाध्यक्ष रहेका छन्। यसैगरी, इन्दु साह, शान्ति राई, उर्मिला दनुवार, सिर्जना खुलाल, सीता लिम्बु र सुशिला संग्रौला सदस्य पदमा निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले सम्बोधन गर्दै पत्रकारहरुलाई सत्यतथ्यमा आधारित रिपोर्टिङ र तीनै तहका सरकारको निगरानी गर्न आग्रह गरिन्। उनले महिला पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा स्थापित हुन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै, उनीहरुको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रमहरु आवश्यक रहेको बताइन्। अधिवेशनमा मोरङकी अग्रज पत्रकार ललिता भट्टराईलाई विशेष सम्मान गरिएको थियो।