विराटनगर, माघ ३०
मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वडा नं. ४ र ५ मा रहेको लोहन्द्रा खोलाबाट गाउँपालिकाका कर्मचारी र व्यवसायीको मिलेमतोमा मापदण्डविपरीत खोला उत्खनन गरी बालुवा र गिटी निकाल्ने काम तीव्ररूपमा भइरहेको छ । खोलामै क्रसर उद्योगीदेखि व्यवसायीले अवैधरूपमा नदी दोहन गरिरहँदा पनि सरोकारवाला निकाय, स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन समेत मौन देखिएका छन् । नदी दोहन व्यापकरूपमा बढेपछि स्थानीयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी समेत दिएका थिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुनसरीले समेत गत पुस २२ गते नै ग्रामथान गाउँपालिकामा पत्रचार गर्दै वास्तविकता खुलाउन निर्देशन दिएको थियो । तर ग्रामथान गाउँपालिकामा हुनेगरेको कर्मचारी र व्यवसायीबीचको सेटिङका कारण अवैधरूपमा भएको खोला दोहन अझै रोकिएको छैन ।
स्थानीयका अनुसार ग्रामथान गाउँपालिकाको वडा नं. ४ र ५ मा पर्ने लोहन्द्रा खोलाबाट पछिल्लो समय व्यवसायीहरूले अत्यन्त गहिरो खाडल बनाएर गिटी बालुवा निकालेको भन्दै त्यहाँका युवाको समूहले खोलामा पुगेर नदी दोहनमा अवरोध समेत गरेका थिए । तर पनि ढुंगा, गिटी र बालुवा दोहन तीव्ररूपमा भइरहेको उनीहरूको भनाइ छ । नदी दोहन दिनप्रतिदिन बढ्दै जाँदा पनि सुरक्षाको जिम्मा लिएर बसेको नेपाल प्रहरीको युनिट भने अनभिज्ञजस्तो बनेर बसको छ स्थानीयको आरोप छ ।
अख्तियारको पत्रलाई ध्यान नै नदिई तस्करहरूले पछिल्लो समय १५ फिटभन्दा गहिरो नहरजस्तो लामो खाडल बनाएर गिटी बालुवा निकालिरहेका छन् । उक्त कार्यले आगामी दिनमा ग्रामथान गाउँपालिकाको वडा ४ र ५ पूरै वडा समेत डुवान हुने जोखिम बढेर गएको छ । अख्तियारले पत्राचार गर्दा पनि खोला दोहन नरोकिएपछि ठेकेदार, कर्मचारी र जनप्रतिनिधि समेतको मिलेमतोमा अवैध उत्खनन भइरहेको स्थानीयको दाबी छ । जसले गर्दा अवैध खोला दोहनका विषयमा ग्रामथान गाउँपालिका नै विवादित बन्दै गएको छ ।
स्रोतका अनुसार जिल्ला समन्वय समिति मोरङले दिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार ठेक्का लगाएर उत्खननको सम्झौता गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच आपसी लेनदेनका विषय कुरा नमिलेका कारण अहिलेसम्म उक्त खोलाको ठेक्का समेत लागेको छैन । कर्मचारी र जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण व्यवसायी र ठेकेदार कम्पनीले अत्यन्त लापरबाहीपूर्ण तरिकाले एक्स्काभेटर समेतको प्रयोग गरी अवैधरूपमा लोहन्द्रा खोलाबाट गिटी बालुवा निकालेको स्थानीयवासीको आरोप छ ।
(आर्थिक दैनिकबाट)