माघ २४, विराटनगर
भूमिहीन दलित,सुकुम्बासी र अब्यवस्थित बसोबास गरिरहेका महानगरवासीको ब्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोग र विराटनगर महानगर बीच संझौता भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली, महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौला , सदस्य सचिव अमिर प्रसाद न्यौपानेले संझौतापत्रमा हस्ताक्षर गरेका थिए । भूमिहीनहरुको समस्या समाधान गर्ने उदेश्य अनुरुप संझौता भएको हो ।
संझौता भए अनुरुप भूमिहीन दलित,सुकुम्बासी र अब्यवस्थित बसोबास गरिरहेका महानगरवासीको पहिचान,प्रमाणीकरण ,आधार र मापदण्ड तयार गरी महानगर र भूमि आयोगले गृहकार्य गर्ने छ । आयोग संगको संझौता संगै भूमिहीनहरुको समस्या समाधानका लागि महानगर लागिपर्ने मेयर भीम पराजुलीले बताए । पराजुलीले दलित तथा विपन्न बर्गका लागि महानगरले आवास योजना मार्फत सेवा कार्य अगाडी बढाउदै लगेको समेत जानकारी दिए ।
नेपाल सरकारले चाँडोभन्दा चाँडो भूमिहीनका समस्या समाधान गर्नमा लागेकाले स्थानीय तहसँग सम्झौता गरिएको आयोगका अध्यक्ष केशब निरौलाले बताए । कार्यक्रममा भूमि आयोग केन्द्रीय सदस्य सरिता महर्जन,मोरङ अध्यक्ष शुसिला घिमिरे,विराटनगर महानगर सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया,प्रशासन अधिकृत केवल पोखरेल लगायतको सहभागिता रहेको थियो ।