निरज बस्नेत
भेडेटार, धनकुटा, माघ २०
विराटनगरबाट ६० किमी उत्तरमा पर्ने साँगुरीगढी गाउँपालिकाको भेडेटार स्वर्गीय गन्तव्य हो । यहाँको प्राकृतिक सुन्दरता चर्चा जति गरेपनि कम हुन्छ ।
यहाँ प्रत्येक दिन ७ किसिमको मौसम हुने गरेको कुरा भेडेटारका स्थानीय समाजसेवी टंक लिम्वू बताउँछन् । चित्ताएको पुग्ने पाथिभारा मन्दिर पनि भेडेटारमा छ । यो मन्दिर भेडेटार चोकबाट उत्तर पश्चिमतर्फ रहेको छ ।
यहाँ मन्दिरमा पुग्दा मनै आनन्द भएर आउँछ । आधा घण्टाको पैदल दूरीमा मन्दिर पुगिन्छ । ताप्लेजुङ जिल्लाको प्रसिद्द पाथिभरा देवीको शाखाको रुपमा स्थापना गरिएको यस मन्दिरमा दिनहुँ सयौंको सँख्यामा देशका विभिन्न भागबाट भक्तजनहरुको ओइरो लाग्ने गर्दछ । यहाँ छिमेकी राष्ट्र भारतबाट समेत धेरैको संख्यामा मानिसहरु दर्शन गर्न भनेर आउँने गरेको यस पाथिभरा देवी मन्दिरका पुजारी बताउँछन् । यस मन्दिरमा मंगलवार र शनिवार विशेष भीड लाग्छ । मन्दिरमा भाकल एवं पूजापाठ गरेमा चित्ताएको पूरा भएर जाने जनविश्वास छ ।
मन्दिर जाने मार्गमा भेडेटार भ्यू टावर छ । यस टावरमा चढेर पूरै भेडेटारको दृश्यावलोकन मज्जासँग गर्न सकिन्छ । प्राकृतिक सम्पदाकी रानी भेडेटार नजिकैमा नाम्चे बजार पनि छ । यो नाम्चेलाई सिएनएनले विश्वको आठौं गन्तव्यस्थल घोषणा गरिसकेको छ । यहाँ नाम्चेको सरसरी वेगले चल्ने हावाले हरकोहीलाई सुखानुभूति मिल्छ । अझ गर्मी मौसममा त विछट्टै मज्जा आउँछ ।
यहाँ एक आत्मा घर पनि रहेको छ । यो आत्मा घरको आफ्नै खाले किंवदन्ती छ । भेडेटार बजारमा रमाउनेको सख्यामा सधै भीड नै देखिने गरेको छ । राम्रा–राम्रा होटलहरुले भेडेटारमा आएका पाहुनाहरुको सत्कारमा कुनै कमी चाँही गर्देनन् । भेडेटार होटल संघका अध्यक्ष जितेन्द्र रुम्दाली नै अहिले साँगुरीगढी गाउँपालिकाका अध्यक्ष छन् । नेपाली कांग्रेसबाट गएको स्थानीय चुनावमा साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिएँ । अध्यक्ष रुम्दालीको पनि नाम्चेमा आफ्नै लगानीको एक रिसोर्ट संचालित छ । यो रिसोर्ट यिनकी जीवनसंगिनीले चलाइरहेकी छिन् ।
दिनरात साँगुरीगढी गाउँपालिकाकै जनताको नियमित काममा रुम्दाली व्यस्त नै हुने गरेको यहाँका धेरै स्थानीय बताउँछन् । प्रदेश १ को पर्यटकीय स्थलहरुमध्ये भेडेटारको नमस्ते झरना पनि हेर्न लायकको एक गन्तव्य हो । यहाँ चर्को घाममा गर्मी छल्न टाढा–टाढाबाट मानिसहरु ओइरिने गर्छन् । यस नमस्ते झरनामा तस्विर खिच्ने, टिकटक बनाउँने, स्नान गर्नेको घूँइचो नै लाग्ने गरेको पाइन्छ ।
साझपरेपछिको भेडेटारको चम्किलो बलेको घरहरुको बत्तीको उज्यालो आहा कति राम्रो हुन्छ । भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउँने हाम्रो चाहना भन्दै यही नाराका साथमा प्रत्येक वर्ष १ जनवरी देखी ३ जनवरीसम्म ३ दिने यहाँ फूड फेष्टिभल समेत लाग्ने गरेको छ ।