टाईले आशु पुछन मिल्दैन, पसिना पुछन मिल्दैन, सिंगान पुछ्न मिल्दैन, रयाल पुछन मिल्दैन, मुखमा लागेको धुवा धुलो पुछ्न मिल्दैन, खाना खाई सके पछि मुख पुछ्न मिल्दैन, छातिमा हावा छेक्दैन, चिसोबाट बचाउदैन, कसैलाई मर्न मन लागेमा पासोको पनि काम गर्दैन, घाटीमा लाग्ने क्यान्सर नहोला भन्नु पर्दैन । टाईले मानिसको जिवनमा स्वस्थ्य संग बाँच्न कुनै भूमिका खेल्दैन । तर पनि टाई यस्तो बस्तु बनेको छ जसलाई संसारभर अगाध प्रेम गरिन्छ । बालक, वयस्क र बृद्ध सवै टाईका दास भएका छन् ।
“बुट टाई चस्मा जेन्टिलम्यान बोध लक्षणम्”। अर्थात् टोपी, जुत्ता, टाई र चस्मा लाउने व्यक्ति चाँही जेन्टल म्यान हो भन्ने भनाइ छ । वर्तमान समय पनि ठक्कै यस्तै देखावटी छ । टाई घाटीमा झुन्ड्याने कपडाको सानो टुक्रो तर विश्वभरी लोकप्रिय । मानिस जीउनका निम्ति टाईको कुनै भुमिका हुन्छ या हुदैन । यो खोज र अध्ययनको विषय होला । तर यसो सरसर्ति हेर्दा जीवन चलाउन टाईको कुनै भूमिका देखिदैन ।
विद्धान होस वा मुर्ख, भलाद्मी होस वा फटाहा, नेता होस वा जनता, व्यापारी होस् वा कर्मचारी, सवैको घाटीमा टाई हुन्छ । टाई मोटाको घाटीमा नि हुन्छ पातलोको घाटीमा नि हुन्छ । कालोको घाटीमा नि हुन्छ गोरोको घाटीमा नि हुन्छ । जुत्ता होस वा चप्पल टाई नै भिरेको हुन्छ ।
कपडाको पाइन्ट होस वा जिन्स पाइन्ट सवै टाइमा नै सजिएका हुन्छन । खुसीमा होस वा जोतेर गलेको गोरु जस्तो होस टाई चाँही छाडेको हुदैन । कार्यालय जाँदा, बजार जाँदा, ससुराल जाँदा, मावल जाँदा, सम्धिकोमा जाँदा, मितकाँ जादा वा अन्य कतै जाँदा सानका साथ टाईमा सजिएर जाने गरेको देखिन्छ ।
टाई नाम चलेका र कहलिएका ठूला भनौदा वा अरुबाट ठूला बनाइएकाले मात्र लाउदैनन । टाई त गाडे, च्याने, आठे, लौरे, पट्के, धजे सवैले लाउछन् । टाई लोकप्रिय भएको हो कि सस्तो भएको हो आजकल टाई आख्खुम, बाख्खुम, चाख्खुम सवैले भिरेकै हुन्छन । शहरियाहरु त आजकल एकै छिन टाई बेगर हिड्दैनन् । टाईलाई जीवनको अभिन्न अंग बनेको छ । टाईलाई जीवन पद्धती बनी सकेको छ । अहिले मान्छेको आँखा नै दोषी भएको छ । टाई लगाएको मान्छे देख्नासाथ भिआइपी जस्तो व्यवहार हुन्छ, ठूलो र असल मान्छे जस्तो भान हुन्छ ।
हाम्रो वरिपरी टाई लाउने दुई खाले मान्छे देखिन्छन् । एक जन्मजात टाई लाउने । जन्मेदेखी नै लगाउनेले चडक्क मिलाएर लगाएको हुन्छ भने ठूलो भएर लाउन सिकेकाले नमिलाईकन नट सवै विगारेर लाएको हुन्छ । सानो देखि नै लाउनेलाई सहज नै हुन्छ किनभने उ टाई लाउनमा अभ्यस्त भई सकेको हुन्छ । तर ठूलो भएर लाउनेलाई कष्टप्रद हुन्छ । घाटीमा केही अड्किए जस्तो हुन्छ । उकुसमुकुस हुन्छ । सास रोकिए जस्तो हुन्छ । खोकी लागो भने टाई समाएर खोक्नु पर्ने हुन्छ ।
दुनिया अहिले टाईको लतमा डुवेको छ । अहिले जुन सुकै परिपाठले पनि टाई लगाउनु पर्ने परिस्थिती आएको छ । घरमा खाने चामल होस कि नहोस दुनियालाई रामै देखाउन लाजगाल छोप्न पनि टाईको सहारा लिनु परेको छ । नुवाइ धुवाई गरोस वा नगरोस तर टाई चाँही छोड्दैन । सामाजिक हेराई नै यस्तो बनि सकेको छ कि टाई नलगाए त पाखेको उपमा पाइन्छ । टाई हुने खानेले मात्र होइन हुँदा खानेले पनि मरिहत्ते गरेर हिरिक्कै भएर भिर्ने गरेका छन् । टाईले चाहे राम्रो देखियोस या नदेखियोस भिरेकै हुन्छ । अहिले मान्छेहरु टाई लाउदा गर्भ महसुस गर्छन । समाजमा आफु प्रतिष्ठत भएको अनुभूति गर्छन ।
कुनै पार्टीमा या जन्ति जान सुटमा टाई अनिवार्य जस्तै छ । यी बाहेकका अन्य कार्यक्रमहरुम मानिस टाईमा ठाटिने गर्छ । भोजभतेर, चाँडबाड वा अन्य महत्वपूर्ण सभा समारोहमा टाई लगाएन भने अलि हेयको भाव व्यक्त गरिन्छ । टाई लगाए पछि शरीरमा स्फूर्ति आउने र सुन्दर देखिने मनोभाव छ । मानिस बुझेर होस या नबुझेर टाइमा लिप्त छन् । पढन लेख्न पर्दैन बाहिरी आवरणमा टाईमा सजिएर सुकुलगुन्डो बन्नेहरु धेरै छन् ।
विदेशीको सिको गरेर यहाँ पनि त्यसैको सिको गरेर टाई लगाइएको हो । यो देखावटी फेसन मात्र हो । यो पुजीपति बर्गको पहिचान होला तर अहिले त समाजबादीहरु पनि टाई र सुट छाड्दैनन् । अहिले यो देशका नेता आफ्नो मौलिक भेषभूषा छाडेर विदेशी भेषभूषामा सजिन रमाउदछन् । आफ्नो मौलिक पोशाक लाउन लाज मान्नेहरु टाई सहितको विदेशी पोशाकमा सजिन पाउदा आत्मसम्मान भएको महसुस गर्छन ।
यहाँ टाई लाउनेको खेदो खनिएको होइन । टाई लाउनै हुदैन भन्ने आशय पनि होइन । तर देश सम्पन्नताको उच्च डिग्रीमा पुगेपछि टाई लाउनु राम्रो हो भन्ने भनाइ मात्र हो । मानव सम्यता संग टाईको सम्वन्ध हुने हुँदा देश सभ्य र सुसंस्कृत भए पछि टाई लाउदा सुहाउछ कि भन्ने आसय हो ।
टाईले मानिसको बाह्य व्यक्तित्व झल्काउला तर यसको सम्वन्ध भित्रि व्यक्तित्व संग छैन । भित्रि व्यक्तित्वको सम्वन्ध ज्ञान संग छ । त्यसैले ज्ञानको भण्डारलाई बढाएर भित्री व्यक्तित्व विकास गरी टाईमा सजिए अझ राम्रो हुन्थ्यो भन्ने भनाइ हो । तर टाई नलाए पनि संसार चल्छ । संसारको गति रोकिदैन । टाई बेगर पनि देश विकास हुन्छ । टाईलाई यति धेरै महत्व दिएर आफनो वास्तविकतालाई लुकाउनु आवश्यक छैन ।
आधुनिक बन्ने नाममा अरुको देखासिकी गर्नु विल्कुल गलत हो । यहाँ विद्यालय देखी नै टाई संस्कृतिको विकास गरी पश्चिमाकरण गरिदैछ । टाई कोलोनाइजेसनका कारण मौलिक भेषभूषा प्यारालाइसिस भएको छ । टाई नै जीवन हो भन्ने भ्रमबाट मुक्त हुनु पर्दछ । टाई नलगाए पनि सम्मानित जिवन जिउन सकिन्छ भन्ने बुझनु पर्दछ । जवसम्म देश समृद्धिको एउटा विन्दुमा पुग्दैन तवसम्म खाली पेटमा टाई लाउनुको कुनै अर्थ छैन । लगभग चौतिस लाख मानिस हरेक रात खान नपाएर भोकै सुत्ने यो देशमा टाईको कुनै काम छैन ।
देश सम्पन्न बनाउनु पर्छ , नेपाली सम्पन्न बन्नु पर्छ । सवै नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्नु पर्छ । त्यसपछि टाई लगाएको सुहाउछ र टाई लाउनुको बेग्लै मजा समेत आउछ । तसर्थ हाम्रो जस्तो गरिव देशमा नागरिकको आवश्यकता टाई होइन गाँस, बाँस, कपास शिक्षा, स्वास्थ्य आदी हो ।