गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात रहेको छ ।
विशेष गरी नेवार समुदायको बसोबास रहको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक नेवारी मातृभाषा प्रचलनमा रहेको छ । मल्लकालमा डेढसय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।
द्वापर युगमा महाभारतकालीन पाण्डुपुत्र पाण्डवमध्ये एक भए पनि भीमसेन वीर तथा वायुपुत्र हुनाले शिवका अंश समेत रहेको देवताका रुपमा पुज्य छन् । भीमसेन जात्राको परम्परा विभिन्न ठाउं विशेष विभिन्न रुपमा चलाउँदैं र मनाउँदैं आएको भएतापनि दोलखा भीमेश्वरको आफ्नै छुट्टै खालको मौलिकता र बिशेषता रहि–आएको पाइन्छ ।
त्यसताका रुप–सौन्दर्यले युक्त विराटको दरबारमा राज्यको प्रमुख सेनापति किच्चक थियो । एक पटक राजा विराटको साला माथि कामुक दृष्टि प¥यौ त्यसलाई भीमसेनले सहने कुरै थिएन । फलस्वरुप भीमसेनको हातबाट किच्चक मारियो, साथै किच्चक बधका क्रममा उनलाई लखेट्दै भीमसेन दोलखा पुगे, जहा“ त्यसबेला घनघोर जंगल थियो । किच्चकलाई मार्नलाई मात्र होइन कौरब पक्षको संहार गर्न भीमसेनले महादेव र भगवतीको आराधना गरे भीमसेनको आराधनाबाट महादेवको रुद्र रुप र भगवतीको अंश पनि उनमा बिलय भयो ।
कालान्तरमा पराक्रमी भीमसेनको शिला उत्पति भयो र यसै शिलालाई भीमेश्वरको रुपमा लिई पूजा–आजा गर्ने चलन रहेको छ भन्ने यहाँको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । भीमसेनले महादेव र भगवतीको आराधना गर्ने बेलामा आफ्ना अनुचरहरुसित बोल्न बेग्लै भाषाको प्रयोग गरेका थिए ।
यसरी भीमसेनले जुनबेला अनुचरहरु सित बोल्ने बेग्लै भाषा हाल दोलखाली नेवार समूदायले आफ्नो मातृभाषाको रुपमा बोल्दै आएको छन् । यो नेपाल भाषा उपत्यकाका तीन शहरहरुमा बोलिने नेपाल भाषा भन्दा भिन्न एवं पुरानो भाषा रहेको मान्यता रहेको छ जुन तथ्यलाई ईतिहास तथा संस्कृतविद् शताब्दी पुरुष दिवंगत डा.सत्यमोहन मोहन जोशीज्युले आफ्नो अभिव्यक्ति दिई पुष्टी गरी सक्नु भएको छ ।
भीमेश्वर तीन अवतार :
दोलखा जिल्लामा मात्र नभएर नेपाल राज्य लगायत छिमेकी विदेशी मुलुकहरुमा समेत दोलखा भीमेश्वरले प्रशिद्धिता पाइसकेको छ । भीमेश्वरलाई एक शिला तीन अवतार मानि पुजा गरिन्छ । यसरी एक शिलालाई तीन अवतार मानी पुजा–आजा गर्दा पूजाको स्वरुप फरक फरक हुन्छ ।
भीमेश्वरलाई रुद्री पूजा गर्दा महादेवको रुप मानिन्छ, बलि चढाउँदा दुर्गा, भगवतीको रुपमा लिइन्छ भने अरु बेला भीमेश्वर (भीमसेन) को रुपमा पुजिने चलन रहेको छ । यसरी भीमेश्वरलाई हरेक दिन बिहानको ४ बजे नित्य पहिलो पूजा गर्ने चलन रहेको छ । यही समयदेखि मन्दिरको मुलढोका खोलिन्छ । पूजा गर्दा भीमेश्वरलाई ढिकीले कुटेको चामल चढाईदैन, ओखलमा कुटेको चामल मात्र चढाउने प्रचलन रहेको छ । बिहानको नित्य पहिलो पूजा सिद्धिएपछि बिहानको १० बजेसम्म बलीपूजा दिने चलन छ र यस बेला भीमेश्वरको शिलामा दुुर्गा भगवतीको ईश्वरत्व रहेको हुन्छ भन्ने मान्यता रहेको छ । यसपछि अर्थात बलीपूजा सिद्धिएपछि दिउँसो मध्यान्ह पूजा नहुन्जेलसम्म रुद्री पुजा गर्ने चलन रहेको छ । यस बेला भीमेश्वरको शिलामा महादेवको इस्वरत्व रहेको हुन्छ भन्ने मान्यता रहेको छ । दिउंसो २ बजे देखि ३ बजेभित्र मध्यान्ह–पूजा गरिन्छ । यी दुई समयमा बाहेक अन्य समयमा भीमेश्वरको इश्वरत्व शिलामा रहेको हुन्छ भन्ने जनविश्वास रहेको छ ।