०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

ज्येष्ठ नागरिकका समस्याप्रति महानगर गम्भीर

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, बैशाख ०४, २०८१

विराटनगर,४ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकका समस्या गम्भीर बन्दै गएको बताएका छन् । नयाँ वर्ष २०८१ सालका अवसरमा विराटनगर–१२ स्थित ज्येष्ठ नागरिक सेवा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वैदेशिक रोजगारी र युवाहरूको विदेश पलायनले ज्येष्ठ नागरिकहरू एक्लो हुँदै गएको बताए । उनले आन्तरिक रुपमा रोजगारी सिर्जना नभएसम्म विदेश पलायन हुनबाट युवालाई रोक्न नसकिने उल्लेख गरे ।

युवाको बढ्दो विदेश पलायनले ज्येष्ठ नागरिकका समस्या बढ्दै गएको उनको भनाइ थियो । “वैदेशिक रोजगारीले परिवारका कमाउने सदस्यहरू कि त खाडी गएका छन् कि त युरोप, अमेरिका, अष्टे«लिया गएका छन् । यता घरमा बूढाबूढी मात्रै पनि भएको अवस्था छ,” उहाँले थप्नुभयो, “बा–आमाको मृत्यु हुँदा चार–पाँच दिनसम्म पनि लाश नउठ्ने अवस्था छ । लाशलाई मुर्दाघरमा राखेर छोराछोरीलाई कुर्नुपर्ने अवस्था देखिएको छ । यो सबै वैदेशिक रोजगारी र युवा पलायनले गर्दा भएको हो भन्ने मलाई लाग्छ ।”

उनले ज्येष्ठ नागरिकका समस्याप्रति महानगरपालिका गम्भीर रहेको बताए । मेयर कोइरालाले ज्येष्ठ नागरिकको स्याहारसुसार गर्ने गरी महानगरले ज्येष्ठ नागरिक संरक्षण केन्द्र स्थापना गर्ने योजना रहेको बताए । “यसरी स्थापना हुने ज्येष्ठ नागरिक केन्द्रमा स्याहारसुसारसहित स्वास्थ्य सुविधा, भजनकीर्तनका साथै उहाँहरूका लागि मनोरञ्जनका सामग्रीसमेत हुनेछ,” उनले भने , “केन्द्र स्थापना गर्न सकिए साथमा छोराछोरी नभए पनि ज्येष्ठ नागरिकले एक्लो महसुस गर्नुहुने छैन ।” विराटनगरमा जन्मिएर अमेरिकामा बसोबास गर्नेहरूसित पनि यस विषयमा छलफल भएको उनले जानकारी दिए । उनले भने , “अमेरिका भ्रमणका क्रममा मैले विराटनगरलाई माया गर्ने अमेरिकामा बसोबास गर्नेहरूसित पनि कुरा गरेको छु । उहाँहरू पनि सहयोग गर्न तयार हुनुहुन्छ ।”

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले ज्येष्ठ नागरिकलाई महानगरपालिकाका तर्फबाट सहयोग गरिरहेको जानकारी दिइन् । उनले ज्येष्ठ नागरिकका लागि धेरैवटा भवन निर्माण गर्ने भन्दा पनि भएका ज्येष्ठ नागरिक भवनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिइन् । हरेक व्यक्ति जीवनमा ज्येष्ठ नागरिक हुने बताउँदै उपमेयर कार्कीले भनिन् , “समाज र परिवारले ज्येष्ठ नागरिकलाई अनुभव र ज्ञानका खानीका रुपमा लिनुपर्छ । पछिल्लो समय कतिपयले ज्येष्ठ नागरिकलाई बोझका रुपमा पनि लिने गरेको पाइन्छ । त्यो एकदमै गलत हो ।

कार्यक्रममा कार्यबाहक वडाध्यक्ष कुशेश्वर राजवंशी, ज्येष्ठ नागरिक जिल्ला अध्यक्ष योगेश्वर निरौला, ज्येष्ठ नागरिक सेवा समितिका अध्यक्ष कृष्ण भण्डारी, विराट सामुदायिक भवनका अध्यक्ष राजेश्याम कट्टेल, कार्यक्रम संयोजक हरिप्रसाद भट्टराई, ज्येष्ठ नागरिक माधवप्रसाद राजवंशी, आयोजक संस्थाका सचिव जीवप्रसाद रेग्मी, सहसचिव कपिलमणि पौडेललगायतले ज्येष्ठ नागरिकका समस्यालाई राज्यले बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]