विराटनगर,११ जेठ/ नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशले सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितासहित विभिन्न कार्यक्रम एव प्रदेश भेला सम्पन्न गरेको छ । दाैड प्रतियाेगितामा विराटनगरका कपलेश्वर यादव प्रथम भएका छन् । त्यस्तै विराटनगरकै अनन्तराम चौधरी द्वितीय र इलामका सुरेश भट्टराई तृतीय भए ।
त्यस्तै महिलातर्फ मोरङकी इन्दु साह प्रथम, ताप्लेजुङकी माला पालुङ्गा द्वितीय, तेह्रथुमकी जानुका नेपाल तृतीय भए । विजेता महिला पुरुष दुवैलाई बराबरी क्रमशः १० हजार, ५ हजार र ३ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।महेन्द्र चोकबाट सुरु भएको दौड बरगाछी उत्तरमा अवस्थित होटल मनास्लु ईनमा पुगेर समापन भएको थियो ।
दाैड प्रतियाेगिता पश्च्यात शुरु भएकाे प्रदेश भेलामा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा युनियनले ६ जना पत्रकारलाई समेत सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता एवम् संघीय सांसद डा. शेखर कोइराला, विराटनगरका मेयर नागेश कोइराला, युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले पत्रकारहरु खोटाङका कृष्ण आचार्य, झापाका गोविन्दचन्द्र क्षेत्री, सुनसरीका गिरिराज आचार्य र हर्ष सुब्बा, मोरङका भारती उपाध्याय र दुर्गाप्रसाद खतिवडालाई सम्मान गरेका थिए ।
भेलामा १४ वटै जिल्ला शाखाका अध्यक्षहरुले महासंघ निर्वाचनको तयारी, युनियनको अवस्थालगायतका विषयमा जानकारी गराएका थिए । भेलामा युनियनका १४ वटै जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, युनियन र महासंघबाट केन्द्र, प्रदेशमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सदस्य, सल्लाहकार समिति, परामर्श समितिलगायतको उपस्थिति रहेको महासचिव संजीव वाग्लेले जानकारी दिए ।
कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशले स्थापना गरेको पत्रकार सामाजिक सुरक्षा र उपचार कोषको समेत औपचारिक घोषणा गरिएको थियो । सोही अवसरमा ‘प्रदेशको स्थायित्व र विकासमा सञ्चार क्षेत्रको भूमिका’ विषय विचार गोष्ठी पनि आयोजना गरिएको थियो ।