विराटनगर,असार २० । विराटनगरकाे कान्तिपुर कलेजमा कक्षा ११ काे नयाँ भर्नाकाे लागी प्रवेश परीक्षा दिन बुधवार विद्यार्थीहरुकाे मानव सागर उर्लिएकाे छ । कक्षा ११ मा ८ सय ५० जनाको कोटाको लागि लिएको प्रवेश परीक्षामा १ हजार ३३७ जनाले परीक्षा दिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । विद्यार्थीसँगै आएका अभिभावक र आफन्तकाे संख्या अझ बढी रहेकाे थियाे।
विद्यार्थी र अभिभावककाे भिडका कारण बुधबार दिनैभरी कलेज आसपासकाे ट्राफिक समेत अस्तव्यवस्तनै रह्याे । परिक्षा शुरु हुँदा र अन्तहुँदाकाे बखत कलेज बाहिर विद्यार्थी र अभिभावककाे भीड अस्वाभाविक थियाे । साे भीडलाई व्यवस्थापन गर्न प्रहरीलाई समेत दिनैभरी हम्मे हम्मे भयाे । कलेज भित्र पनि भीड नियन्त्रणकाे लागी २० जनाभन्दा सेक्युरीटी तथा कर्मचारी कलेज प्रशासनले खटाउनु परेकाे थियाे ।
कलेजका अनुसार बुधबार कक्षा ११ को विज्ञान संकायमा ३५० जनाको कोटामा ६०३ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्यसैगरी ३५० जना व्यवस्थापन संकायको लागि लिएको परीक्षामा ४९७ जना र होटल व्यवस्थापनको १५० जनाको कोटाको लागि लिएको परीक्षामा २३७ जना विद्यार्थीले परीक्षा दिएका छन् । परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कलेजले भर्ना लिने गरी प्रवेश परीक्षाको नतिजा बुधबारनै कलेजले प्रकाशित गरेकाे छ । ‘छिटो र छरीतो तरिकाले हामीले लोकसेवाको लिने जसरी कम्प्यूटरको माध्यमबाट प्रवेश परीक्षा लिएका छौं,’ प्रिन्सिपल नेपालले भने, ‘आज छुटेका विद्यार्थीको लागि पनि हामीले अर्को दिनमा प्रवेश परीक्षा लिने तयारी गरिएको छ ।’
वर्षेनी शैक्षिक गुणस्तरमा फड्काे मारिरहेकाे कन्तिपुर कलेज पछिल्लाे समय अभिभावकको पहिलाे रोजाइमा परेको कलेज हाे । विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पढाइ हुने उक्त कलेजमा २०७२ सालदेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल्याएपछि सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छ । यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ ।